पर्वको मोसन पोस्टर र ट्रेलर सार्वजनिक

अभिनेत्री नम्रता श्रेष्ठ तथा अभिनेता कोशिस क्षेत्रीको मुख्य भूमिका रहेको दिनेश राउतद्वारा निर्देशित चलचित्र ‘पर्व’ को ट्रेलर तथा मोसन पोस्टर आइतबार काठमाडौंमा प्रिमियर गरिएको छ ।

सुवास ईन्टरटेन्मेन्ट तथा गोपिकृष्ण टिभी फिल्मीले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्र  सस्पेन्स/थ्रिलर शैलीको छ । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता कोशिस क्षेत्रीलाई लेखकको रुपमा देखिन्छन् भने नम्रताले मानसिक रोगीको भूमिका निर्वाह गरेकी छिन् । यसअघि यो चलचित्रको ‘काले दाइ…’ गीत लोकप्रिय भैसकेको छ ।

समारोहमा अभिनेता कोशिस क्षेत्रीले निर्देशक राउत तथा अभिनेत्री श्रेष्ठसंग काम गर्ने लामो समयदेखिको रहर ‘पर्व’ ले पुरा गरेको धारणा व्यक्त गरे । ‘चलचित्रमा मैले एउटा लेखकको भूमिका निर्वाह गरेको छु, क्षेत्रीले भने– ‘जो आफ्नी मानसिक रोगी प्रेमिकाको हेरचाहमा जुटेको छ ।’ अभिनेत्री नम्रता श्रेष्ठले ‘पर्व’ ले दर्शकको मन जित्ने दावी गरिन् ।

सुवास गिरी तथा निकिता पौडेलद्वारा निर्मित यो चलचित्रको कथा पनि अभिनेता कोशिस क्षेत्रीले नै लेखेका हुन् । चलचित्रमा किरण माइकलको पटकथा र संवाद छ भने राजेश श्रेष्ठ यो चलचित्रका छायांकार हुन् । चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द्व तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

समारोहमा निर्देशक दिनेश राउतले पहिलो पटक थ्रिलर र सस्पेन्स शैलीको चलचित्र निर्देशन गरेको बताए । राउतले यसअघि आइ एम सरी, नोभेम्बर रेन, क्लासिक जस्ता प्रेमकथा बोकेका चलचित्र निर्देशन गरेका थिए ।

चलचित्रमा नम्रता र कोशिससंगै माला लिम्बु, अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना, जेबिका कार्की आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रमा कोशिस क्षेत्री र राजनराज शिवाकोटीको संगीतका गीतहरुमा निश्चल बस्नेत, मिना निरौला, राजनराज शिवाकोटी, केतन क्षेत्री आदिको पाश्र्व गायन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here